काठमाडौं- सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टर खोज्न काठमाडौंबाट अर्को हेलिकोप्टर परिचालन गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर खोज्न अल्टिच्युडको हेलिकोप्टर पठाइएको हो।
‘काठमाडौंबाट खोजी र उद्धारका लागि हेलिकोप्टर पठाइएको छ,’ उनले भने, ‘सो हेलिकोप्टर केही समयमा त्यहाँ ल्याण्ड भएपछि घटनाको बारेमा थप विवरण प्राप्त होला।’
जिल्लाबाट खोजी टोली र काठमाडौंबाट हेलिकोप्टर पठाएको उनले बताए। हेलिकोप्टर ११ बजेर २५ मिनेटमा काठमाडौंबाट खोजी तथा उद्धारको लागि गएको उनले बताए ।
बिहान १० बजेर १० मिनेटमा सोलुखुम्बुकै सुर्के हेलिप्याडबाट विदेशी ५ नागरिक बोकेर काठमाडौं आउँदै गर्दा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो।
उक्त हेलिकोप्टर लामाजुरामा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको र त्यसलाई थप पुष्टि गर्ने भइरहेको सिटौलाले बताए। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए भने तीमध्ये पाँच जना मेक्सिकन नागरिक सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।