काठमाडौं– दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ। नेपाल संगीत तथा नाट्य एकेडेमीमा पुगेर सरकारका मन्त्री, राजनीतिक दलका नेता, संगीत तथा नाट्य क्षेत्रका अगुवा एवम् कलाकर्मीले तामाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
आइतबार अन्तिम संस्कार अगाडि तामाङको शव नेपाल संगीत तथा नाट्य एकेडेमीमा राखिएको थियो। एकेडेमी पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
यस्तै, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापा लगायतले पनि तामाङको शवमा श्रद्धाञ्जली अर्पण गरे।
पर्यटनमन्त्री किरातीले श्रष्टाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ समेत नभएको उल्लेख गर्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन बनाउने बताए। यस्तै, सञ्चारमन्त्री शर्माले कला क्षेत्रको उज्ज्वल नक्षत्र गुमाएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरिन्।
नेपाली रक जनराको संगीतको विकासमा अतुलनीय योगदान पुर्याएका तामाङ मंगलबार बुढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए। तामाङको आइतबार शोभा भगवतिमा अन्तिम संस्कार गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।