काठमाडौं–सट्टेबाजी खेलाउने एप ‘वान–एक्स बेट’का मुख्य नेपाली एजेन्ट तथा नाइके दिनेश खड्काले एक वर्षमै करिब एक अर्बको कारोबार गरेको खुलेको छ। प्रहरीले गरेको २० दिन लामो अनुसन्धानको क्रममा उनले करिब एक अर्बको कारोबार गरेको देखिएको हो।
गत जेठ ३१ गते कैलालीको लम्कीचुहा नगरपालिका–१० घर भइ काठमाडौं चाबहिल बस्दै आएका २९ वर्षीय दिनेश खड्कासहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गर्दै खड्काले एक वर्षमै ६४ करोड बराबरको सट्टेबाजी कारोबार गरेको बताएको थियो।
तर, अनुसन्धानको क्रममा उनले थप ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको हो। उनले विभिन्न व्यक्तिका नाममा थप ४२ वटा खाता खोलेर ३१ करोड ५ लाख ९१ हजार २२६ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रमुख डा मनोज केसीले बताए। खड्काविरुद्ध थप दुई जना पीडितले प्रहरीमा जाहेरीसमेत दिएका छन्।
अहिलेसम्म ६४ करोड र ३१ करोड गरी उनले ९५ करोडमाथिको कारोबार गरेको खुलेको छ। उनले जम्माजम्मी एक वर्षको अवधिमा उक्त कारोबार गरेका हुन्। यो कारोबार गर्न उनले विभिन्न व्यक्तिका १०५ वटा खाता प्रयोग गरेको पाइएको छ। खड्का वान एक्स बेट तथा अवैध क्रिप्टोकरेन्सी कारोबारीका मुख्य एजेन्ट रहेको प्रहरी अनुसन्धानबाट खलेको छ।
यसअघि प्रहरीले खड्काकै प्रेमिका काभ्रेको पाँचखाल नगरपालिका–४ घर भइ चाबहिल नै बस्दै आएकी २८ वर्षीया अनिता धितालसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ घर भएका २७ वर्षीय दिपेश श्रेष्ठ, कन्चनपुरको भीमदत्त नगरपालिका–१८ घर भइ काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोटको ककनी गाउँपालिका–७ घर भइ काठमाडौं नागार्जुन बस्ने २४ वर्षीय आशिष लामिछानेलाई पक्राउ गरेको थियो।
यो गिरोहले सट्टेबाजी खेलाउने वान एक्स बेटका एजेन्टहरु काठमाडौंमा रहेर धन्दा सञ्चालन गर्ने गरेको पाइएको थियो। दिनेशले राम विलाश डिथारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी १०५ वटा खाता खोलेर सञ्चालन गरेको खुलेको छ।
खड्काले जंगल, पुकुन्डोल, पिंकी, पिन्टु, पुन्टी, गुल्लु, चिकुवान, ओनिअनवान नामको कनेक्ट आईपीएस अकाउन्ट खोली कारोबार गर्ने गर्थे। उनी यसअघि पनि पक्राउ परेको व्यक्ति हुन्। उनीसहित चार जनालाई राजश्व अनुसन्धान विभागले २०७८ सालमा पक्राउ गरेको थियो।
उनको ग्लोबल आईएमई बैंकमा ८ करोड ७९ लाख रुपैयाँको कारोबार देखिएपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए। त्यतिबेला दिनेशसँगै उनकी दिदी भगवती खड्का, वुवा नरबहादुर खड्का र उनकी केटी साथी अनिता धितालविरुद्ध ३७ लाख ६४ करोडको विगो कायम गर्दै मुद्दा चलाइएको थियो। पछि उनी २५ लाख धरौटीमा रिहा भएका थिए। अहिले फेरि दिनेशले यही धन्दा सुरु गरेको आरोपमा पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।