काठमाडौँ– आगामी असार २९ गते रिलिज हुने नेपाली चलचित्र 'बगान'को गीत सार्वजनिक भएको छ। 'न वारमा छु, न पारमा छु' बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ। गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरको मुख्य भूमिका छ।
यस गीतमा चलचित्रभित्र करिश्मा मानन्धरको जीवनकथा समेट्ने दृश्यहरू समावेश गरिएको छ। काँखे छोरी हुर्काउँदै एकल जिन्दगी बिताउनुपर्दाका भोगाइहरू यो गीत हेर्दा महसुस हुन्छ।
अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको यो चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका छन्।
यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। स्वप्न नीरवको कथामा आधारित यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन्।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ।
यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ। 'बगान'को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।