काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले बिहीबार यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बिगो, सोही बराबर जरिवाना र कैद सजाय माग दाबी गरेको छ। अख्तियारले उनको स्रोत नखुलेको सबै सम्पत्ति जफत गर्न पनि माग गरेको छ।
यादव २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए। उनी २०७९ जेठ १ गतेसम्म सेवामा बहाल थिए। अवकाशलगत्तै उनीविरुद्ध अख्तियारले गैरकानुनी सम्पत्ति छानबिनको मुद्दा अगाडि बढाएको थियो।
यादवले पदमा रहँदा तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानमा पाइएको छ।
वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको अभियोगपत्रा उल्लेख छ।
आयोगले गैरकानुनी रुपमा आर्जन गरेको तथा स्रोत नखुल्ने सम्पत्ति पत्नी मञ्जुदेवी यादवको नाममा घरजग्गा खरिद, घर निर्माण, शेयर खरिदलगायतका प्रयोग गरेको पाइएकोले सबै जफत हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।