काठमाडौं– युरोकप २०२४ को छनौटमा स्टार खेलाडी अर्लिङ हालाण्डको देश नर्वे स्कटल्याण्डसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा स्कटल्याण्डसँग नर्वे २–१ गोल अन्तरले पराजित भयो।
पेनाल्टीमार्फत् नर्वेले सुरुवाती अग्रता बनाए पनि अग्रता जोगाउन नसक्दा पराजित भयो। पहिलो हाफ दुबैतर्फबाट गोल नभइ सकियो। दोस्रो हाफको ६१ औं मिनेटमा नर्वेले पाएको पेनाल्टीमार्फत् हालाण्डले गोल गर्दै अग्रता बनाए।
तर अन्तिम २ मिनेटमा २ गोल गर्दै पाहुना टोली स्कटल्याण्डले नर्वेलाई पराजित गर्यो। ८७ र ८९औं मिनेटमा २ गोल गर्दै स्कटल्याण्डले सनसनीपूर्ण नजिता निकाल्यो।
लिन्डन डाइकले ८७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसको २ मिनेटपछि ८९औं मिनेटमा म्याकलिनले गोल गरेपछि स्कटल्याण्डले नर्वेलाई उसैको घरमा हरायो।
जितसँगै समूह ‘ए’ मा रहेको स्कटल्याण्ड ३ खेलबाट ९ अंक निकाल्दै शीर्ष स्थानमा रहेको छ। ३ खेलबाट १ अंकसहित नर्वे चौथो नम्बरमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।