काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।
सभाले समूह ‘क’ संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ।
यस्तै, सभाले ९.८० प्रतिशत शेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो। यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू समेत सभाले पारित गरेको छ।
साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच १:१ शेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई स्वीकृति प्रदान गरेको छ। साथै मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ। प्रभु लाइफले २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।