काठमाडौं- मुखमा कपडाले बाँधेर बागबजारमा एक किशोरीमाथि बलात्कार भएको छ। किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
धनुषाको शहीदनगर नगरपालिका–४ घर भई बागबजार बस्दै आएका १९ वर्षीय अस्फाक मुस्लिम भनिने अस्फार राईनविरुद्ध मुद्दा दायर गरिएको हो। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। घटना लगत्तै फरार भएका उनी अहिलेसम्म पक्राउ नपरेको भन्दै फरार प्रतिवादी बनाइएको छ।
घटना एक वर्षअघि २०७९ जेठ २५ गतेको हो। १५ वर्षीया किशोरी परिवारसँग डेरा-कोठामा बागबजारमा बस्दै आएकी थिइन्। किशोरी बस्ने घरकै अर्को कोठामा राइन बस्थे।
नुहाउँदै गरेको बेला राईनले लुकेर ती किशोरीको नग्न भिडियो खिचे। पछि आफूसँग नुहाउँदै गरेको नग्न भिडियो रहेको भन्दै किशोरीलाई ब्ल्याकमेलिङ गर्न थाले।
ती किशोरीबाट १० हजार ५ सय समेत राइनले लिए। त्यतिले मात्रै भएन। त्यसपछि राइनले आफूसँग यौन सम्पर्क नराखे उक्त भिडियो सामाजिक सञ्जालमा हाल्दै भाइरल गराइदिनेसम्मको चेतावनी दिए।
भिडियो खिचेको १० दिनपछि डेरा-कोठामा कोही नभएको मौका पारेर राइनले ती किशोरीलाई सोही घरको कोठामा लगी मुखमा कपडाले बाँधेर बलात्कार गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
मुखमा कपडाले बाँधेर बोल्न कराउन नदिई राइनले बलात्कार गरेको दाबी गरिएको छ। घटनाबारे राति परिवारलाई जानकारी गराएपछि राइनको कोठामा जाँदा अघिबाटै थाहा पाएर उनी फरार भएका थिए। अहिलेसम्म पनि उनी फरार छन्।
राईनविरुद्ध मुलकी फौजदारी अपराध संहिताको जबरजस्ती करणी अन्तगर्तको कसुर र पीडित बालिका १५ वर्षको भएकाले थप सजाय समेत मागदाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।