काठमाडौं– सफ्टवेरिका कलेजले सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ।
कलेजले यो कार्यक्रम विद्यार्थी, उद्यमी र सल्लाहकारहरूको विविध समूहलाई नवीन, सामाजिक र उद्यमशीलता विचारहरूको प्रयोगको साथ विश्वव्यापी चुनौतीहरूको सामना गर्न लिएर आएको बताएको छ।
कार्यक्रमको विजेता टिमले आफ्नो सामाजिक उद्यम सुरू गर्न र दिगो प्रभाव सिर्जना गर्न सिड फन्डिङका रूपमा दस लाख डलर पाउने कलेजले बताएको छ।
क्याम्पस निर्देशक स्वप्निल विष्टको नेतृत्वमा कलेजले हल्ट प्राइज २०२२–२३ का लागि प्रेरणादायी कार्यक्रमहरुको आयोजना गरेको थियो।
यस कार्यक्रममा ३० भन्दा बढी टोलीले भाग लिएका थिए जसमा १० भन्दा बढी नेपाली उद्यमीहरू सहभागी थिए र उनीहरूले आफ्ना अमूल्य परामर्श र सल्लाह प्रदान गरेका थिए।
मूल्यांकन प्रक्रियापछि ५ टोली अन–क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकको लागि प्रतिस्पर्धा गर्दै फाइनलमा पुगे।
सफ्टवेरिकाका अनुसार कार्यक्रमले मेलबर्न लगायत विश्वभरका विभिन्न १२ स्थानहरूमा आयोजित क्षेत्रीय शिखर सम्मेलनको विजेता टोलीलाई उनीहरूको विचारहरू प्रस्तुत गर्न एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो।
कार्यक्रममा नेपालका प्रतिभाशाली सदस्यहरू वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी सम्मिलित 'द ढाका प्यालेट'ले मेलबर्नमा आफ्नो 'रिडिजाइनिङ फेसन' अवधारणा प्रस्तुत गरेका थिए। उनीहरूको भिजनमा परम्परागत ढाका फेब्रिकलाई एआई टेक्नोलोजीको प्रयोग गरी दैनिक पहिरनमा एकीकृत गर्न सकिन्छ भन्ने थियो। उनीहरूको विचार लक्षित बजारलाई अपसाइक्लिङ र रिसाइक्लिङ जस्ता सेवाहरू प्रदान गर्न बाटो विस्तार गर्छ।
कलेजको हल्ट प्राइजले सामाजिक उद्यमशीलताको विकास गर्न र विश्वव्यापी चुनौतीहरूको दिगो समाधानलाई बढावा दिने बताइएको छ।
यस प्रतियोगिताले युवा सामाजिक उद्यमीहरूका लागि मञ्च प्रदान गरी परिवर्तनकारी अर्को पुस्तालाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ। यस कार्यक्रमको लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।