काठमाडौं– लगातारको वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् संरचनामा क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार मधेश प्रादेशिक कार्यालयअन्तर्गत ७८ वटा एलटी/एचटी पोल ढलेका छन् भने १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ।
प्राधिकरणका अनुसार मधेशका तीन वटा वितरण सबस्टेसनमा पानी पसे पनि विद्युत् आपूर्ति अवरुद्ध नगरी डिवाटरिङको काम भइरहेको छ। पानी हटाउने कामसँगै ती सबस्टेसनबाट विद्युत् आपूर्ति पनि निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
यता, प्युठानमा अर्घाखाँचीबाट आपूर्ति हुँदै आएको ३३ केभी लाइन मर्मत भइरहेको छ। प्राधिकरणका अनुसार साँझसम्म लाइन सञ्चालनमा आएमा सदरमुकामसहित जिल्लाका धेरै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन हुनेछ।
लमही–झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुडिएको कन्डक्टर जोड्ने काम भइरहेको छ। वर्षाका कारण मर्मतमा कठिनाइ भए पनि राति १० बजेसम्म लाइन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उक्त लाइन सञ्चालन भएपछि प्युठानमा पूर्णरूपमा तथा रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी क्षेत्रमा विद्युत् सेवा सहज हुने प्राधिकरणले जनाएको छ।
रोल्पाको होलेरी क्षेत्रमा पनि विद्युत् संरचनामा क्षति पुगेको छ। एक स्थानमा पाँच स्प्यान कन्डक्टर पोलसहित ढलेका छन् भने अन्य चार स्थानमा रुखले पोलसहित तारमा क्षति पुर्याएको पाइएको छ। मर्मत टोली परिचालन भइसकेको र भोलिसम्म विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ।
थवाङतर्फ जाने लाइनमा भने तुलनात्मक रूपमा बढी क्षति भएको छ। बाटो अवरुद्ध भएकाले प्राविधिक टोली पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, रुकुम पूर्वमा सल्यान हुँदै गएको लाइन पनि अवरुद्ध भएको छ। पहिरोसँगै पोल बगेको प्रारम्भिक जानकारी आएको र भोलिसम्ममा लाइन पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ। हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोबाट विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।