काठमाडौं– अन्तिम एक खेलअघि नै चर्च ब्वाइज युनाइटेड फुटबल क्लब शहीद स्मार ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ। दशरथ चन्द रंगशालामा भएको थ्री–स्टारसँगको खेलमा गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइज एक खेलअघि नै च्याम्पियन बनेको हो।
चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २ खेल खेल्न बाँकी हुँदा ३९ अंक छ। अब बाँकी २ खेल नै मच्छिन्द्रले जिते पनि र चर्च ब्वाइजले अन्तिम खेल हारे पनि उपाधि जितिसकेको छ।
मच्छिन्द्रले २ खेल जित्दा र चर्च ब्वाइजले १ खेल हार्दा अंक बराबरी भए पनि हेड टु हेडमा चर्च ब्वाइज अघि छ।
नेपाली घरेलु फुटबलको इतिहासमा ‘सी’ डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्दै चर्च ब्वाइजले इतिहास रचेको छ। यसअघि यो इतिहास मनाङ मर्याङ्दीसँग मात्रै थियो भने अब त्यसमा चर्च ब्वाइज पनि थपिएको छ।
चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो। त्यसको १० वर्षपछि २०७६ सालमा सी डिभिजन छनोटको उपाधि चर्च ब्वाइजले जितेको थियो। त्यसपछि लगातार सी डिभिजन, ‘बी’ डिभिजन हुँदै अहिले चर्च ब्वाइजले ए डिभिजनको उपाधि उचालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।