काठमाडौं– प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सिंगापुर प्रस्थान गरेका छन्।
इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा सञ्चालन हुने ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागी हुन सोमबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बिदाई गरेका छन्।
सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट मंगलबार बिहान १०:१५ बजे नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएकोमा इन्टरपोलको उक्त झण्डा प्रहरी महानिरीक्षक कुँवरबाट को दौरानमा इन्टरपोलका अध्यक्ष अहमद नासिर अल रसाईलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
हेड अफ एनसिबी कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने गर्छ।
कन्फरेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ-आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्नेछन्। इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यसवर्ष सन् २०२३ जुन ७ देखि ९ सम्म सिंगापुरमा सम्पन्न हुनेछ।
कन्फरेन्समा एनसिबी काठमाडौँका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत सहभागी हुनेछन्। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।