काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर भएको ठगी प्रकरणमा आज (सोमबार) पनि थुनछेक बसह हुने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको थियो।
हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो।
अदालतले थुनछेक बहसका लागि सरकारी वकिललाई ३ दिनको समय दिएको छ। यस्तै, प्रतिवादीका वकिललाई ६ दिनको समय छुट्याएको छ। आइतबार सरकारी पक्षबाट २ जना सरकारी वकिलले बहस गरेका छन्।
पूर्वउपप्रधानमन्त्री, नेकपा एमालेका नेता एवम् सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित प्रतिवादीका तर्फबाट करिब ३ दर्जन बढी वकिलले बहस गर्ने तयारी गरेका छन्। हालसम्म कांग्रेस नेता खाणको प्रतिरक्षामा सबैभन्दा धेरै कानुन व्यवसायी उत्रिने देखिएको छ।
खाणको पक्षमा २ जना पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवसहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने बताइएको छ।
थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा राख्ने भन्ने आदेश सुनाउनेछ।
अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्ने छन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउने छन्। माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्टाउन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।