काठमाडौं– नक्कली भुटानी नागरिक बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुली गरेको ठगी प्रकरणमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो।
जाहेरीकर्ता तथा पीडितको तर्फबाट बहस गर्नका लागि सरकारी वकिलहरुलाई न्यायाधीश न्यौपानेले ३ दिनको समय छुट्याएका छन्।
प्रतिवादी तथा पक्राउ परेका १८ अभियुक्तहरुको तर्फबाट बहस गर्नका लागि ६ दिनको समय छुट्याइएको छ। थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ।
अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्ने छन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउने छन्। माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्टाउन सक्छ।
यसअघि पक्राउ परेका अभियुक्तहरुको एक साता लगाएर न्यायाधीश न्यौपानेले बयान गराएका थिए। पक्राउ परेकाहरु अधिकांशले आफूमाथिको आरोप भने अस्वीकार गर्दै आएका छन्।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्वसांसद तथा कांग्रेसका नेता आङटावा शेर्पा पक्राउ परेका छन्।
त्यसैगरी हज समितिका अध्यक्ष शमशेर मियाँ, बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, अर्का बिचौलिया सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, बिचौलिया टंक गुरुङ, रामशरण केशी, बालकृष्ण खाणका पीए नरेन्द्र केसी, बिचौलिया गोविन्द चौधरी, लक्ष्मी महर्जन, हरिभक्त प्रधान गरी १८ जना अहिले हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।