काठमाडौं– जर्मन लिग बुन्डेसलिगामा नाटकीय रुपमा जित निकाल्दै बायर्न म्युनिखले उपाधि कब्जा गरेको छ। आफ्नो जितले मात्रै नपुग्ने बायर्नलाई डर्टमन्डको हार तथा बराबरीमा नतिजा आवश्यक थियो। सोचेअनुसार दुबै नतिजा नाटकीय रुपमा आफ्नो पक्षमा आएपछि बायर्न च्याम्पियन बन्यो।
लिगको अन्तिम १ खेल बाँकी छँदा डर्टमन्ड ७० अंकसहित शीर्ष स्थानमा थियो। ६८ अंकसहित बायर्न दोस्रो स्थानमा थियो। आफ्नो अन्तिम खेल घरेलु मैदानमा डर्टमन्डले मेन्जसँग खेल्दै थियो भने बायर्नले कोलनसँग प्रतिस्पर्धा गर्दै थियो।
बायर्नले उपाधि हात पार्नका लागि आफ्नो जित मात्रै नभएर डर्टमन्डको हार तथा बराबरी आवयश्यक थियो। बायर्ननले सोचेनअनुसार नै डर्टमन्ड मेन्जसँग २–२ को बराबरीमा राकियो। यता कोलनलाई २–१ ले हराएपछि बायर्ननले उपाधि उचाल्यो।
दुबैको समान ७१ अंक भए पनि गोल अन्तरको आधारमा डर्टमन्डलाई पछि पार्दै बायर्नले लगातार ११औं पटक बुन्डेसलिगाको उपाधि उपचाल्यो।
खेलको ८औं मिनेटमा कोमनले गोल गर्दै बायर्नको उपाधि उचाल्ने आशालाई कायमै राखेका थिए। उता पहिला हाफमै घरेलु मैदानमा डर्टमन्ड २–० ले पछि पर्यो। १५औं मिनेटमा फार्नान्डेसको पासमा ह्यान्चे ओल्सेनले गोल गर्दै डर्टमन्डको उपाधि धक्का दिएका थिए।
१९औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि खेल बराबरीमा ल्याउँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा डर्टमन्ड थियो। तर हालरले प्रहार गरेको पेनाल्टी मेन्जका गोलरक्षकले रोकिदिए।
२४औं मिनेटमा लि जे सुंगको पासमा ओनिसिवोलले गोल गर्दै मेन्जको अग्रता दोब्बर बनाए। त्यसपछि भने डर्टमन्ड उपाधिबाट टाढा गइसकेको थियो। उपाधी सेलिब्रेसन गर्न घरेलु मैदानमा खचाखच भरिएका दर्शकहरु एकाएक निराश भए।
दोस्रो हाफमा नतिजा उल्टाउने आशा भने जीवितै थियो। ६९औं मिनेटमा गुएरेरोले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए। यता एउटै सयमा भइरहेको अर्को खेलमा कोलनले पेनाल्टीमार्फत् गोल गर्दै बायर्नसँग १–१ को बराबरी बनायो।
८१औं मिनेटमा पाएको पेनाल्टीमा ल्युबिकिकले गोल गरेपछि बायर्न १–१ को बराबरीमा आयो। ८१औं मिनेटमा बायर्न बराबरीमा आएपछि डर्टमन्डको रंगशालामा फेरि खुसियाली छायो। किनकि बायर्न बराबरीमा रोकिएमा मात्रै पनि हारका बाबजुत डर्टमन्डले उपाधि जित्दै थियो।
तर डर्टमन्डका लागि यो खुसी केही मिनेटभन्दा टिक्न सकेन। खेलको अन्तिम ८९औं मिनेटमा मुसियालाले गोल गर्दै पुन बायर्नलाई २–१ स्थितीमा पुर्याए। यो नतिजाले डर्टमन्डका समर्थकमा सन्नाटा छायो।
अतिरिक्त ५ मिनेटको समयमा भए पनि नतिजा उल्टाउने लक्ष्यमा डर्टमन्ड दौडिरह्यो। अन्तिम मिनेटमा सुलले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। यतिलेमात्रै डर्टमन्डको उपाधि रक्षा हुने थिएन। त्यसका लागि प्रष्ट जित आवश्यक थियो। अन्तिम समयमा राम्रो प्रहार गरे पनि मेन्जका गोल रक्षकले उत्कृष्ट बचाउ गरेपछि डर्टमन्ड रोकियो, बायर्न च्याम्पियन बन्यो।
घरेलु मैदानमा उपाधि सेलिब्रेसन गर्न ठिक्क परेको डर्टमन्डलाई चोट दिँदै बायर्न लगातार ११औं पटक विजेता बन्यो। समग्रमा भने बायर्ननले ३३औं पटक उपाधि उचाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।