काठमाडौं– उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ।
त्यस्तै अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ। सहिद स्मारक ए डिभजिन लिगको खेलहरुमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको शुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो।
‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर्मी सातौं स्थानमा झरेको छ। मच्छिन्द्र समान खेलबाट ३५ अंककासाथ दोस्रो स्थानमा यथावत छ।
रोमाञ्चक र प्रतिष्पर्धात्मका बनेको खेलमा १७ औं मिनेटमा दिनेश हेन्जनको गोलमार्फत् आर्मीले सुरुवाती अग्रता लिएको थियो। तर ६० औं मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मच्छिन्द्र १–१ को बराबरीमा हुँदा मच्छिन्द्र हारबाट जोगिन पुगेको थियो। आर्मी लिगमा मच्छिन्द्रबिरुद्ध अपराजित रह्यो। पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो।
लिग अन्तर्गत शनिबार दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय टोली एपिएफ फुटबल क्लवले जावलाखेल युथ क्लबमाथि २–० को सहज जित निकालेको हो। जितसँगै २२ खेलमा २९ अंक जोडेको छ। एपिएफ छैटौं स्थानमा उक्लिएको छ। पराजय व्यहोरेको जावलाखेल समान खेलबाट ३४ अंकका साथ तेस्रो स्थानमा कायम छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन अर्मान्ड बिडोम र आवास लामिछानेले समान एक/एक गोल गरे। सुरुआतबाट जावलाखेल विरुद्ध आक्रामक खेल देखाएको एपिएफले खेलको २३ औं मिनेटमा बिडोमको गोलमार्फत् अग्रता लिएको थियो। बिडोमले शरन विक्रम बस्नेतको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए।
पहिलो हाफको इन्जुरीमा आवासले गोल गर्दै एपिएफलाई २–० को जित दिलाए। बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन। ८६ औं मिनेटमा एपिएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए। मैदान भित्र झगडा गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपिएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिँदै मैदान पठाएका थिए।
यससँगै एपिएफ लिगमा जावलाखेलविरुद्ध अपराजित रह्यो। यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।