काठमाडौं– विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब एनआरटीसँग १–० ले स्तब्ध भएको छ।
ललितपुरस्थित च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन दुवै गोल आवास लामिछानेले गरे भने संकटाका लागि मनिष डाँगीले एक सान्त्वना गोल फर्काउन सफल भए।
खेलको २४ औं मिनेटमा आवासको गोलमार्फत् एपिएफले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा आवासले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे। ५० औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेन।
यससँगै एपिएफलले संकटासँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ। पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो। जितसँगै एपिएफले २१ खेलमा २६ अंक जोडेको छ। पराजय व्यहोरेको संकटाको समान खेलबाट २३ अंक छ।
लिग अन्तर्गत बुधबार नै भएको अर्को खेलमा आर्मीले एनआरटीलाई १–० को नतिजा सुम्पियो। एनआरटीलाई स्पष्ट जित दिलाउनका लागि कृतिश रत्न छुन्जूले दोस्रो हाफमा गरेको गोल निर्णायक बनेको हो। कृतिशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलको ७९ औं मिनेटमा गोल गरेका थिए।
कृतिशले सञ्जीव विष्टले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका हुन्। लिगमा आर्मीविरुद्ध एनआरटी अपराजित रह्यो। यी दुईबीचको पहिलो भेट ३–३ को बराबरीमा सकिएको थियो। जितसँगै २१ खेलमा २१ खेलमा २६ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लिएको छ। पराजय व्यहोरेको आर्मी समान खेलबाट २९ अंकका साथ पाँचौं स्थानमा यथावत छ।
लिगमा बिहीबार दुई खेल हुनेछन्। दिनको पहिलो खेल सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच एन्फा मुख्यालयमा हुनेछ भने दोस्रो खेल चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच च्यासल मैदानमा प्रतिष्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।