काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको छ। युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका हुन्।
दरपीठ गरिएको रिटलाई मंगलबार दर्ताका लागि आदेश गरिएको थियो भने सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो।
लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाण पेस गर्न नसकेको दाबी पौडेलले रिट निवेदनमा गरेका छन्। अमेरिकी नागरिकता त्यागको निस्सा पेस गर्न लगाउने आदेश भएकोमा सो रिट निवेदनको लिखित जवाफ पेस गर्दा पेस नभएको बताइएको छ।
भनिएको छ, 'निज रवि लामिछाने, जिल्ला प्रशासन कार्यालय काठमाडौं एवं अध्यागमन विभागका तर्फबाट समेत प्रमाणित निस्सा संलग्न गरी सर्वोच्च अदालत समक्ष पेस गर्न नसकिएको मात्रै होइन कि प्रमाण खण्डमा उक्त निस्साको उल्लेख समेत गर्न नसकेको हुँदा निज रवि लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस गर्न नसकेको र निस्सा पेस गर्न नसकेको कारणले नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम पुनः नेपाली नागरिकता प्राप्त गर्न नसकेको प्रष्ट भएको छ।'
सर्वोच्च अदालतले २०७९ माघ १३ को आदेशका आधारमा नियम ११ बमोजिमको प्रक्रिया पूरा नभएको प्रष्ट भएकोले पुनः नेपाली नागरिकता कायम गरेको भन्ने प्रष्ट हुने गरी नागरिकता जारी र प्राप्त नगरेसम्म लामिछाने कुनै पनि राजनीतिक पदमा उम्मेदवार हुन, निर्वाचित हुन, मनोनयन हुन र मतदान गर्न नपाउने परमादेशको माग रिट निवेदनमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।