काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेस प्रदेशका १ वा २ स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।