काठमाडौं– चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ का विजेता भरतमणि पौडेलले आफूले पाउने रू २५ लाखमा १४ लाख मात्र पाएको बताएका छन्।
हिमालय टेलिभिजनमा प्रस्तोता गोपिकृष्ण चापागाईंसँगको अन्तर्वार्तामा उनले रू १४ लाख २५ हजार मात्र प्राप्त गर्दा अचम्मित भएको बताए।
‘कमेडी च्याम्पियन’ मा विजेतालाई २५ लाख र कार उपहारको घोषणा गरिएको थियो। भरतमणिले आफूले २५ लाख नै पाउने अपेक्षा गरेका थिए। ‘२५ लाखबाट आकस्मिक लाभकर काटिएर १४ लाख २५ हजार आउने रहेछ। विधिविधान कस्तो छ, नियम कानुन के हो थाहा छैन। मैले यो कुरा पछि नै थाहा पाएको हो। यसमा दु:ख मानेर हुनेवाला केही छैन। असन्तुष्टि मानेर पनि केही हुन्न,’ भरतमणिले भने।
पहिलो सिजनका विजेता हिमेश पन्तले पनि त्यति नै पाएको भरमणिले बताए। उपहारमा पनि झण्डै आधा जति रकम काटेर दिएकोमा उनको गुनासो थियो।
गाडी अझै आफ्नो नाममा छैन
भरतमणिले गाडी पनि अझै आफ्नो नाममा नआएको बताए।
‘पैसा पाएँ तर गाडी आफ्नो नाममा आएको छैन। त्यो चाहिँ के हो। विशाल दाइ साथीजस्तो हुनुहुन्छ। भित्री उहाँहरूको अफिसको केही छ कि ट्याक्सहरू बुझाउनुपर्ने। भित्री कुरा म केही बुझ्दिनँ। चासो पनि धेरै दिन्न म। जब चासो दिनुपर्छ त्यतिबेला चित्त दुख्छ,’ भरतमणिले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।