काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता स्पेनिस क्लब रियल मड्रिडमाथि समग्रमा ५–१ गोलको जित निकाल्दै सिटीले युरोपियन्स लिगको फाइनल पक्का गरेको हो।
सेमिफाइनलको दोस्रो लेगमा सिटीले रियललाई ४–० ले हरायो। पहिलो लेग भने १–१ गोलको बराबरीमा सकिएको थियो।
इतिहात स्टेडियममा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सिटीका लागि बर्नाडी सिल्भाले २ तथा म्यानुअल एकान्जी र जुलियन अल्भारेजले १–१ गोल गरे। सिटीले पहिलो र दोस्रो हाफमा समान २–२ गोल गर्यो।
खेलको २३औं मिनेटमा गोल गर्दै सिल्भाले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३७औं मिनेटमा व्यक्तिग र टोलीका लागि दोस्रो गोल गरे।
यस्तै, ७६औं मिनेटमा म्यानुयल एकान्जीले तेस्रो गोल थपे। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ४–० को सानदार जित दिलाए।
यसअघिका २ संस्करणको सेमिफाइइलमा रियलसँग पराजित भएको सिटीले यसपटक भने पुरानो गल्ती सुधार गर्दै उपाधि नजिक पुगेको हो।
पहिलोपटक युरोपियन्स लिगको च्याम्पिन बन्नलाई सिटीले अब इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल १० जुनमा टर्कीको इस्तानबुलमा हुनेछ।
सिटी यसअघि सन २०२०–२१ को सिजनमा फाइनल पुगेपनि चेल्सीसँग पराजित हुन पुगेको थियो। इन्टर मिलान भने १३ वर्षपछि फाइनल पुगेको हो।
सिटी प्रिमियर लिग र एफए कपको पनि उपाधि नजिक छ। सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।