काठमाडौं– इन्टर मिलान युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। मिलान डर्वीमा शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई पराजित गर्दै इन्टर १३ वर्षपछि युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो।
इन्टरले एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा १–० ले पराजित गर्यो। पहिलो लेगमा इन्टर २–० ले विजयी भएको थियो। समग्रमा ३-० गोलको नतिजामा फाइनल पुगेको हो।
सानसिरोमा मंगलबार राति भएको खेलको दोस्रो हाफमा इन्टरका लागि अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो। मार्टिनेज खेलको ७४औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भए।
इन्टर मिलान सन् २०१० पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो। इन्टरले सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गर्दै जितेको थियो। त्यसयता भने इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन।
इन्टर मिलानले उपाधिका लागि अब रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो लेगमा बराबरी खेलेका रियल र म्यानचेस्टर सिटी दोस्रो लेगमा बुधबार राति प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।