काठमाडौं- टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले मंगलबार जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गर्दै चौधरी जेलमुक्त नहुने फैसला गरेको हो।
जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
उक्त पुनरावेदनमाथि फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन नपर्ने फैसला गरेको हो। सोही घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन्।
अर्का प्रतिवादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मण सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ।
उक्त मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। उक्त दिन चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। सोमबारदेखि सरकारी वकिल र प्रतिपक्षका कानुन व्यवसायीहरुले बहस गरेका थिए।
नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरी सहितका टीकापुर घटनामा संलग्नहरुलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसदमा दर्ता गराएको थियो। तर उक्त विधेयक पास हुनुअघि नै सर्वोच्चले फैसला सुनाएको छ। सर्वोच्चले दोषी ठहर गरेपछि अब उनले माफी पाउने सबै बाटा बन्द भएका छन्।
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो।उक्त घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीमाथि मुद्दा लागाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।