काठमाडौं– नेपाल राष्ट्र बैंकले ९.४ महिना वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति भएको दाबी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो।
सरकारले ७ महिनाको लक्ष्य राखेको थियो। ‘आर्थिक वर्ष २०७९/८० मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा ०७९ चैत मसान्तमा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ, ’ प्रतिवेदनमा भनिएको छ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.० प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो ९ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ७.९१ प्रतिशत रहेको राष्ट्र बैंकको दाबी छ।
आव०७९/८० मा विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १२ प्रतिशतसम्मले हुने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा ०७९ चैत मसान्तमा यस्तो वृद्धिदर ९.९ प्रतिशत रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, आव ०७९/८० मा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो वृद्धिदर ४.० प्रतिशत रहेको छ।
विदेशी मुद्रा सञ्चिति गत असार मसान्तको तुलनामा करिब १८ प्रतिशतले बढेको हो। उक्त समयमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड थियो। चैत महिनाको अन्त्यमा आइपुग्दा मुद्रा सञ्चिति १४ अर्ब ३३ खर्ब ७३ करोड पुगेको छ।
‘२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
उक्त विदेशी मुद्रा सञ्चितिले करिब ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।