काठमाडौं– फ्रेण्ड्स क्लवमाथि ४–१ सहज जित निकाल्दै जावलाखेल राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।
ललितपुरस्थित च्यासल मैदानमा बिहीबार सम्पन्न खेलमा जावलाखेलले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खान पुगेको थियो। यसजितसँगै जावलाखेल समग्रमा ४–१ को नतिजा निकाल्दै शीर्ष स्थानमा फर्किएको हो।
जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १–१ गोल गरे। फ्रेण्ड्सका लागि श्यामबाबु क्यापछाकीले गोल फकाउँदै अन्तर घटाएका थिए। सुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा जावलाखेलले २० औं मिनेटमा खाता खोल्न सफल भएको थियो।
अब्दुलअजिज निशानबाएभको कर्नरमा भारतीय डिफेण्डर राहुल राहुलले हेडरमार्फत जाली चुमाउन सफल भएका हुन्। त्यसको ६ मिनेटपछि नै अब्दुलअजिजको फ्रिकिकलाई एनकोटो मासोआबीले गोल गर्दै जावलाखेललाई पहलिो हाफमा २–० को अग्रता दिलाए।
दोस्रो हाफमा पनि जावलाखेलले फ्रेण्ड्सलाई दबाबमा राख्दै खेल देखायो। तर दोस्रो हाफमा फ्रेण्ड्सले सम्हालिएको प्रदर्शन गर्ने प्रयास गर्यो। ५७ औं मिनेटमा फ्रेण्ड्सका असिम भुषालको फ्रिकिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो। ६४ औं मिनेटमा मासोआबीको पेनाल्टीमा जावलाखेलले ३–० को अग्रता लियो।
पेनाल्टी क्षेत्रभित्र एञ्जल महर्जनले ह्याण्ड गरेपछि जावलाखेलले पेनाल्टीको अवसर पाएको थियो। ७५ औं मिनेटमा मासोआबीको कडा प्रहार फ्रेण्ड्सका गोलरक्षक राजाबाबु थापा बचाउन सफल भएका थिए। ८० औं मिनेटमा श्यामबाबु क्यापछाकीले फ्रेन्ड्सका लागि गोल फर्काउँदै अन्तर ३–१ मा घटाए। इन्ज्युरी समयमा फोडे फोफानाले गोल गरेपछि जावलाखेलको जित निश्चित भयो।
यस जितपछि जावलाखेलको १७ खेलमा ३० अंक छ। चर्च ब्वाइज समान ३० अंकमा भए पनि हेड टु हेड नतिजामा दोस्रो स्थानमा झरेको छ। जावलाखेलले चर्च ब्वाइजलाई १–० ले हराएको थियो। फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११ औं स्थानमा छ।
लिग अन्तर्गत शुक्रबार तीन खेल हुनेछन्। दिनको पहिलो खेल संकटा र नेपाल पुलिस क्लवबीच दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच एन्फा मुख्यालयमा प्रतिष्पर्धा हुनेछ। तेस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र खुमलटार युथ क्लवबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।