काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ।
सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे।
उनले खेलको १४औं मिनेटमा पहिलो गोल गरे। यस्तै खेलको २६औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटालाई जित दिलाए।
यस जितसँगै १६ खेलमा २० अङ्क जोडेको सङ्कटा अङ्कतालिकाको नवौं स्थानमा उक्लिएको छ। समान खेल खेलेको सातदोबाटो २३ अङ्कका साथ अङ्कतालिकाको पाँचौं स्थानमा छ।
यसैगरी दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ। यस खेलसँगै थ्री स्टार दोस्रो स्थानमा उक्लिएको छ। थ्री स्टारको १६ खेलमा २५ अङ्क छ। यस्तै एनआरटी १६ खेलमा १८ अङ्क जोड्दै १२ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।