काठमाडौं– भारतका प्रसिद्ध गायक पापोनले काठमाडौंमा सांगीतिक कार्यक्रम गर्ने भएका छन्। उनी सांगीतिक प्रस्तुतिका लागि नेपाल आउन लागेका हुन्। नेपालमा उनको यो पहिलो प्रस्तुति हो।
उनको यो विशेष कन्सर्ट सोल्टी होटेलस्थित प्रिवे क्लबमा वैशाख २२ गते हुनेछ। लोकप्रिय गायक पापोन आफ्नो भावपूर्ण र मनमोहक प्रस्तुतिका लागि परिचित छन्। उनका ‘जिएक्यूँ’ र ‘मोहमोह के धागे’ जस्ता प्रसिद्ध गीतहरूको हृदयस्पर्शी संस्करणहरु उत्कृष्ट मानिन्छ।
पापोनले असमिया लोक संगीत र समसामयिक विधाहरूको अद्वितीय संयोजनसहित विश्वभरिका लाखौं उत्साहीहरूको मन जितेका छन्। सांगीतिक कार्यक्रमको आयोजना 'लिक्विड इन्टेलिजेन्स' क्रिएटिव मिडिया एजेन्सीले आयोजना गरेको हो।
कार्यक्रमबारे उत्साहित पापोनले भने, ‘काठमाडौंमा प्रस्तुति दिने कुराले म निकै खुशी छु।’ बलिउड संगीत जगतमा पनि आफ्नो जादु देखाएका उनले दर्शकलाई भव्यताका साथ आकर्षित गरेर मनोरञ्जन गराउँछन्।
काठमाडौँमा उनले आफ्ना नयाँ सिर्जनाका साथै आफ्ना प्रख्यात हिट गीत प्रस्तुत गर्नेछन्। उनलाई १२ जना वाद्यवादक र संगीतकारहरूले साथ दिँदै प्रस्तुति जीवन्त बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।