काठमाडौं– नर्वेली फरवार्ड अर्लिङ हालाण्डले कीर्तिमान बनाएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई ३–० ले हराउँदै सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो।
सिटीको जितमा नाथन एके, फिल फोडेन र हालाण्डले १–१ गोल गरे। बुधबार रातिको खेलमा गरेको गोलसँगै २२ वर्षीय हालाण्डले प्रिमियर लिगको एकै सिजनमा ३५ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। जारी सिजनका ३१ खेलमा हालाण्डले ३५ गोल पूरा गरेका हुन्।
इत्तिहाद स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५०औं मिनेटमा नाथ एकेले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ७०औं मिनेटमा हालाण्डले गोल थपे। खेलको ८५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० को सानदार जित दिलाए।
यो जितसँगै सिटी ३३ खेलबाट ७९ अंकका साथ पुन: शीर्ष स्थानमा फर्किएको छ। दोस्रो स्थानमा झरेको आर्सनलको ३४ खेलबाट ७८ अंक छ। वेस्ट ह्याम ३४ खेलबाट ३४ अंकका साथ तालिकाको १५औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।