काठमाडौं– इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनल पुन: शीर्ष स्थानमा फर्किएको छ।
मंगलबार रातिको लन्डन डर्बीमा आर्सनलले चेल्सीलाई ३–१ गोलले पराजित गर्यो। पछिल्ला ४ खेलपछि आर्सनलले पहिलो जित हात पारेको हो। पछिल्ला ४ खेलमध्ये आर्सनलले ३ मा बराबरी र एउटामा हार बेहोरेको थियो।
इमिरेट्स स्टेडियममा घरेलु टोली आर्सनलका लागि मार्टिन ओडेगार्डले २ गोल गरे। यस्तै, ब्राजिली फरवार्ड गाब्रियल जेससले १ गोल थपे। चेल्सीका नोनी माडुकले १ गोल फर्काए।
खेलको १८औं मिनेटमा मार्टिन ओडेगार्डले गरेको गोलमार्फत घरेलु टोली आर्सनलले अग्रता लिएको थियो। ३१औं मिनेटमा ओडेगार्डले नै दोस्रो गोल थपे।
३४औं मिनेटमा गाब्रिएल जेजसले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो। ६५औं मिनेटमा चेल्सीका नोनी माडुएकेले गोल फर्काए। तर उनको गोल जितका लागि पर्याप्त भएन।
चेल्सीमाथिको जितसँगै आर्सनल पुन: उपाधि दौडमा फर्किएको छ। ३४ खेलबाट ७८ अंक जोड्दै आर्सनल तालिकाको शीर्ष स्थानमा फर्किएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ७६ अंक छ।
१२औं स्थानमा रहेको चेल्सीको ३३ खेलबाट ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।