काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले टोलीका मुख्य फरुवार्ड लियोनल मेसीलाई प्रशिक्षण तथा खेलमा सहभागी हुन नपाउने गरी २ साताको प्रतिबन्ध लगाएको छ।
क्लबको अनुमति नलिइ साउदी अरबको भ्रमण गरेपछि पीएसजीले अर्जेन्टिनी स्टार मेसीलाई २ साताका लागि प्रतिबन्ध लगाएको हो। यस अवधिमा उनी प्रशिक्षण तथा खेलमा भाग लिन नपाउनेगरी निलम्बनमा हुनेछन्।
२ साताको प्रतिबन्धका कारण मेसीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउने भएका छन्।
मेसीले व्यवसायिक कामका लागि भनेर साउदीको यात्रा अनुमति मागेका थिए। तर क्लबले उनको यात्राका लागि अनुमति नदिएको बताइएको छ। मेसी साउदी अरेबियाका लागि पर्यटन दूतको भूमिका निर्वाह गरेका छन्।
साउदी भ्रमणलगत्तै मेसीले लिग वानमा लोरिएन्टविरुद्ध पुरै ९० मिनेट खेलेका थिए। तर उक्त खेलमा पीएसजी ३–१ ले पराजित भएको थियो।
मेसीले पीएसजीसँग गरेको २ वर्षको सम्झौता यही समरमा सकिँदैछ। मेसीले पीएसजीका लागि हालसम्म ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन्। गत सिजनको लिग वानको समेत उपाधि जितेका छन्।
यसबीच उनी पुरानो क्लब बार्सिलोना फर्किने चर्चा पनि चलिरहेको छ। बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले मेसीलाई बार्सिलोना फर्काउने प्रयास गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।