काठमाडौं– बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणको मुद्दामा भारतको सीबीआई विशेष अदालतले अभिनेता सुरज पंचोलीलाई निर्दोष ठहर गरेको छ। सुरजविरुद्ध लगाइका आरोपमा प्रमाण नपुगेको भन्दै सीआईबीको मुम्बई विशेष अदालतले निर्दोष ठहर गरेको हो।
अभिनेत्री खानले आत्महत्या गरेको १० वर्षपछि अदालतले फैसला सुनाएको हो। अभिनेत्री खानका प्रेमी भनिएका सुरजविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा लगाइएको थियो।
अभिनेत्री जिया खान ३ जुन २०१३ मा आफ्नै फ्ल्याटमा मृत भेटिएकी थिइन्। उनले आत्महत्या गरेकी थिइन्। जियाकी आमाको जाहेरीपछि उनका केटासाथी (ब्वाईफ्रेन्ड) रहेका अभिनेता सुरज पंचोलीलाई पक्राउ गरिएको थियो।
प्रहरीले जियाको घरवाट ६ पेजको सुसाइड नोट फेला पारेको थियो। उक्त सुसाइड नोटमा जियाले सुरज पंचोलीको नाम पटक पटक लिएकी छन्। सुसाइड नोटमा लेखिएको छ कि उनीहरुको सम्बन्ध आपसमा बिग्रिँदै गएको थियो। यही कारण उनी डिप्रेसन (तनाव)मा थिइन्। उनी आफूलाई ब्रेकडाउन फिल गरिरहेकी थिइन्। सुरजसँगको ब्रेकअपका कारण आफूले असफल भएको महसुस गरिरहेको जियाले सुसाइड नोटमा उल्लेख गरेकी थिइन्। उनले आत्महत्या गरेपछि जियाकी आमा राबिया खानले सुरजमाथि मुद्दा दर्ता गराएकी थिइन्।
जियाले १८ वर्षकै उमेरमा रामगोपाल बर्माको फिल्म ‘निशब्द’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनले आफ्नो छोटो करिअर अवधिमा अमिताभ बच्चन, आमिर खान र अक्षय कुमारजस्ता स्टारसँग काम गर्ने अवसर पाइन्।
जिया खानले आफ्नो डेब्यु फिल्ममा बलिउडका ‘बिगबी’ अमिताभ बच्चनसँग काम गरेकी थिइन्। उक्त फिल्म राम गोपाल वर्माको निर्देशनमा बनेको ‘निशब्द’ थियो। यसपछि उनले अमिर खानको ‘गजनी’मा काम गर्ने अवसर पाइन्।
त्यस्तै, उनको अन्तिम फिल्म अक्षय कुमारसँगको ‘हाउसफुल’ थियो। गजनी र हाउसफुल दुवैले १०० करोडभन्दा धेरै कारोबार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।