काठमाडौं– शैक्षिक सत्र २०८० देखि काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ देखि १२) सम्म ‘छोटो अवधिको सिपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ।
पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। यस प्रकारको तालिम सञ्चालन गर्न चालु आर्थिक वर्ष २०७९∕०८० को स्वीकृत वार्षिक कार्यक्रममा बजेटको व्यवस्था गरिएको छ।
‘अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषयहरु पठनपाठन भइरहेका छन्। यस्ता कार्यक्रमबाट प्राप्त सिकाइ र सिपलाई संस्थागत गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्ने यसको मुख्य लक्ष्य हो। वर्तमान समयअनुकूलका दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौँ महानगरपालिकाले ११औँ नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ। तालिम सुरु भएसँगै नीति कार्यान्वयनमा आएको छ,’ उनले भने।
९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिनेछ।
यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीहरुले दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सक्नेछन्। विद्यालय तह पूरा गर्दा विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै रुचि अनुसारको जीवनमा उपयोगी सीपको प्रमाणपत्र पनि प्राप्त गर्नेछन्। प्रतिस्पर्धी जीवनका लागि व्यावहारिक शिक्षा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो। यसले विद्यार्थीहरुमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुने महानगरले जनाएकाे छ।
कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन्। हरेक तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ। कार्यक्रमको शुरुवात अर्थात् पहिलो बर्ष (शैक्षिक सत्र २०८०) मा कक्षा ९ का लागि नमूना कार्यक्रम चलाइनेछ। यसका लागि विद्यालयहरुलाई अनुदान रकम उपलब्ध गराइने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।