काठमाडौं — असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको छ।
त्यस्तै, सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवागमन पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ।
मकवानपुरतर्फ कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं आउने सडकमा पनि बेलुका ७ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।
यसैगरी, बीपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा भने आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार देशभर मनसुन सक्रिय रहेको र असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राखेर रात्रिकालीन आवागमनमा रोक लगाइएको हो।
सिद्धिचरण लोकमार्गमा लगाइएको रोक असोज १२ गतेसम्म लागू हुनेछ भने अन्य सडकमा सम्बन्धित सूचनामा तोकिएको समयअनुसार रात्रिकालीन आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।