काठमाडौँ– चलचित्र विकास बोर्डले विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदानका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ।
विशेष चलचित्रको प्रतिस्पर्धाको लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ। आइतबार सूचना जारी गर्दै बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्रका चलचित्रहरुलाई आवेदन दिन माग गरेको हो।
राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भई प्रदर्शन समेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरुले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए।
आदिवासी, जनजाति एवम् विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समयसीमा भित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन्।
राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन ०८० वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।
प्रवक्ता बुढाथोकीले निर्धारित समयसीमा भित्र आफ्ना चलचित्रहरूलाई बोर्डको कार्यालयमा आवेदन दिई प्रतिस्पर्धामा सहभागी गराउन फिल्म मेकरलाई अपिल गरे।
विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन। यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरुले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३-३ वटा चलचित्र गरी ६ वटा घोषणा हुनेछन्।
उत्कृष्ट लेखन (कथा, पटकथा तथा सम्वाद), उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान हुने गर्दछ।
उल्लेखित विधाहरू बाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुने गर्दछ।
बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्र प्रमुखबाट राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान गर्ने गर्दछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।