कन्नड फिल्मका चर्चित अभिनेता सम्पथ जे रामले आत्महत्या गरेका छन्।
३५ वर्षीय सम्पथले शनिबार आत्महत्या गरेका हुन्। उनको शव बैंगलोरको नेलमंगलास्थित उनको घरमा भेटिएको बताइएको छ। सम्पथको निधनको खबरले कन्नड फिल्म उद्योग शोकमा छ।
सम्पथ जे रामले टिभीमा ‘अग्निसाक्षी’ जस्ता सिरियलमा काम गरेका थिए। उनी ‘श्री बालाजी फोटो स्टुडियो’ जस्ता फिल्ममा पनि देखिएका छन्। उनको मृत्युपछि आएको समाचार अनुसार काम नपाएपछि उनी डिप्रेशनमा थिए। तर, परिवारका सदस्य वा साथीहरूले अहिलेसम्म त्यस्तो कुनै पनि कुराको आधिकारिक पुष्टि गरेका छैनन्।
हालै रिलिज भएको फिल्म ‘श्री बालाजी फोटो स्टुडियो’ मा सम्पत जे रामलाई निर्देशन गरेका निर्देशक राजेश ध्रूवले उनको निधनमा शोक व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेको एउटा पोस्टमा सम्पतलाई छोरा भनेर सम्बोधन गरेका छन्।
राजेश ध्रूवले आफ्नो पोस्टमा लेखेका छन्, ‘छोरा, तिम्रो विछोड सहने शक्ति हामीसँग छैन। तिमीले कति फिल्म बनायौ, कति लडाइँ लड्यौ र त्यसलाई साकार पार्न कति सपना थिए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।