काठमाडौं- सर्वोच्च अदालतले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स वितरणमा रोक लगाउनुपर्ने माग गरिएको रिट खारेजी गरेसँगै व्यवसायीहरुले हिमालयन स्टक एक्स्चेन्सको माग गर्दै निवेदन दिएका छन्।
शुक्रबार नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स माग गर्दै उनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन्। शंकर समूहको अगुवाइमा नेपालका ठूला व्यावसायिक घरानाहरु यसमा संलग्न भएका छन्।
हिमालयन स्टकमा शंकरलाल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणा पनि उक्त स्टकमा सहभागी भएकी छन्। उक्त समूहमा राजेन्द्र खेतान, सतीशलाल मोर, विवेक दुगड, शौरभ ज्योति लगायतका ठूला व्यापारी छन्। त्यस्तै यसमा दीपक भट्ट, रोहित गुप्ता, आशीष श्रेष्ठ, जुनी गुरुङको पनि लगानी छ।
स्टक एक्स्चेन्जसहित वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) को लाइसेन्सको लागि वैशाख १० गतेसम्म निवेदन दिन सकिने सूचना वोर्डले जारी गरेको थियो। सर्वोच्च अदालतमा दिपक मिश्रले धितोपत्र बजार सञ्चालन नियमावली संशोधन गर्दै नयाँ स्टक ल्याउन आर्थिक र गैरकानुनी चलखेल भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमा अनिल सिन्हासहितको इजलासले खारेज गर्ने फैसला सुनाएको थियो। सर्वोच्चको उक्त फैसलापछि बोर्डले नयाँ स्टकका लागि आवेदन दिन सूचना जारी गरेको थियो। उक्त सूचनामा हालसम्म हिमालयनले मात्र आवेदन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।