काठमाडौं- प्वाइन्ट टु–टु सहित पक्राउ परेका गुण्डा नाइके भनेर चिनिने चक्रे मिलन (मिलन गुरुङ)का बडीगार्ड गणेशबहादुर बोगटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश जिल्ला प्रशासन कार्यालय बाँकेले आदेश दिएको छ।
अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न सीडीओ कार्यालयबाट मंगलबार अनुमति भएको जिल्ला प्रहरी कार्यालयका बाँकेका एसपी तथा प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बताए। कति दिनको म्याद थप भएको हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।
लाइसेन्स लिएर हतियार राखेको भए पनि उक्त हतियार अन्य ठाउँमा पनि दुरुपयोग गरिएको छ/छैन भनेर अनुसन्धान गरिने एसपी राठौरले बताए। दुरुपयोग गरिएको अवस्थामा सीडीओ कार्यालयले बोगटीको हतियारको लाइसेन्स नै खारेज गरेर हतियार फिर्ता गराउन सक्नेछ। सोही अनुसार अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
गुण्डा नाइके गुरुङको बडीगार्ड बन्दै हतियार बोकेको भिडिओ बनाएर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएको छ। उक्त समाचार नेपाल लाइभले प्रकाशन गरेपछि सोमबार राति नै बाँके प्रहरीले बाँकेको चिसापानीबाट गुरुङलाई पक्राउ गरेको थियो।
नेपालगन्जमा एमालेनिकट राष्ट्रिय युवासंघको महाधिवेशन चलिरहेको छ। गुण्डा नाइके चक्रे मिलन पनि सोही महाधिवेशनमा सहभागी हुन नेपालगन्ज पुगेका थिए। उनकै बडीगार्ड बन्दै बोगटीले हतियार प्रदर्शन गरेका थिए। उक्त भिडिओ नेपालगञ्जकै एक होटलमा बनाएको खुलेको छ।
‘ज्ञानेन्द्रवली ५७’ नाम गरेको टिकटक आईडीबाट उक्त भिडियो सार्वजनिक भएको थियो। समाचार प्रकाशन भएसँगै टिकटकबाट भिडिओ हटाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।