मुम्बई– बलिउडका चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायणले आफू पनि बलिउडका खराब समूहको शिकार भएको खुलासा गरेका छन्। टिभी प्रस्तोताको रूपमा नाम कमाएका आदित्यले कुनै बेला बलिउडमा स्थापित हुन संघर्ष गरेका थिए।
उनी आफ्नो बुवाजस्तै गायन क्षेत्रमा स्थापित हुन सानैदेखि प्रयासरत थिए। तर, आफूलाई स्थापित हुन नदिन अन्तिम समयमा गीत परिवर्तन गर्ने गरेको खुलासा गरेका हुन्।
आदित्यले भारतको चर्चित अखबार हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भने, ‘यो वर्ष मैले एउटा ठूलो गीत गाएको थिएँ। तर, मेरो गीतलाई अन्तिम मिनेटमा परिवर्तन गरियो। म निराश छु। भविस्यमा यो कुरा उजागर गर्दै जानेछु।’
केही समयअघि अभिनेत्री प्रियंका चोपडाले बलिउडमा हुने गरेको खराब राजनीतिबारे पटाक्षेप गरेकी थिइन्। यसपछि बलिउडका चर्चित हस्तीहरूले एकपछि अर्को गर्दै आफ्नो अनुभव सार्वजनिक गरिरहेका छन्।
आदित्य नारायण भन्छन्, ‘यो गीत सार्वजनिक भएर ठूलो हिट भइसकेको छ। तर, अन्तिम समयमा चलचित्र निर्माताहरूले पुरानो बाटो अपनाउँदै दोस्रो गायक चयन गरेका छन्।’ उनले म्युजिक कम्पोजरले आफूलाई गीत गाउन बोलाइरहेकोमा खुसी व्यक्त गरे।
‘म जुन गीतसँग जोडिन्छु, त्यसमा डुब्न खोज्छु। गत वर्ष मेरो ‘शमशेरा’ मा भएको ‘जी हुजुर’ राम्रै चलेको थियो,’ उनले भने। ३५ वर्षीय आदित्यले आफ्नो बुवा उदितलाई पनि कुनै बेला यस्तै भएको भन्दै बलिउडमा यस्तो घटना नौलो नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।