काठमाडौं– गुण्डा नाइके चक्रे मिलनको समूहमा हतियार प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मिलनको बडिगार्ड बनेर हतियार प्रदर्शन गर्ने गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको हो।
सोमबार हतियार बोकेका युवासहित चक्रेमिलन (मिलन गुरुङ) देखा परेका थिए। सामाजिक सञ्जाल टिकटकमा हतियारसहित मार्च गरेको देखिन्छ।
मिलनभन्दा पछाडी हतियार बोकेका बोगटीलाई बाँकेको चिसापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।
उक्त हतियार लाइसेन्स प्राप्त भए पनि सार्वजनिक रुपमा प्रदर्शन गरेकाले पक्राउ गरिएको उनले बताए। उक्त भिडिओ नेपालगन्जस्थित एक होटलको हो।
नेपालगन्जमा यतिबेला एमाले निकट राष्ट्रिय युवासंघको महाधिवेशन चलिरहेको छ। गुण्डा नाइके चक्रे मिलन पनि सोही महाधिवेशनमा सहभागी हुन नेपालगन्ज पुगेका हुन्।
ज्ञानेन्द्रवली५७ नाम गरेको टिकटक आईडीबाट उक्त भिडियो सार्वजनिक भएको हो। भिडियोमा चक्रेसँगै अन्य १०/१२ जना युवाहरू देखिन्छन्। तीमध्ये एक युवाले हतियार बोकेको देखिन्छ। हतियार बोक्ने युवा नै बोगटी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।