काठमाडौं– कपिलवस्तु जिल्ला अदालतले सोही अदालतमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको जाहेरीले न्यायाधीश गिरीलाई अनुसन्धानका लागि पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको हो। उनी विवादित भएपछि न्याय परिषद् काठमाडौं तानिएका थिए।
सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको अदालतका तहसिलदार गोकर्ण लम्सालले बताए। न्यायाधीश रामानन्द अधिकारीको इजलासले उनलाई पक्राउ गर्न आदेश जारी गरेको हो।
जिल्ला अदालतको यो आदेशसँगै उनलाई अनुसन्धाानका लागि पक्राउ गर्ने बाटो खुलेको छ। न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले कपिलवस्तु प्रहरीमा वैवाहिक करणीको उजुरी दिएकी थिइन्।
यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात कीर्ते गरेको अभियोगमा न्यायाधीश पत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।