भैरहवा– लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने भएको छ। नेपाल राष्ट्र बैंकको परिवर्त्य मूल्यको सूचीमा नपरेका मुलुकका श्रद्धालुले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन।
लुम्बिनीमा १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ बराबरका विभिन्न ३९ वटा देशका मुद्रा राष्ट्र बैंकले सटही नगर्दा यत्तिकै थन्किएको थियो। तर अब यी मुद्रामध्ये २० वटा देशको मुद्रा भने सटही हुने भएको छ।
लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवासँग अपरिवर्त्य मुद्राको सटहीका लागि सम्झौता भएको बताए।
लुम्बिनीको दानपेटिकाबाट सङ्कलित मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारका ‘क्याट’ रहेका छन्। त्यसपछि ओमान, पेरु, इण्डोनेसिया, भियतनाम, भुटानका छन्। त्यसैगरी मङ्गोलिया, बङ्गलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, ईरान, मोरिसस, युगान्डा, इराक, माल्दिभ्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताइवान, जोर्डन, लेबनान, ब्राजिल, ईजिप्ट, ब्रुनाई, सियरा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा छन्।
७३ लाख ४८ हजार १५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट सटही हुन सकेको छैन। त्यस्तै ५ हजार ३३९ ओमन रियाल सटही हुन सकेको छैन। जसको मूल्य नेपाली रुपैयाँ १७ लाख ७९ हजार ९६६ बराबर हुन आउँछ। यसैगरी ८ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २३० श्रीलङ्कन रुपैयाँ पनि विकास कोषले प्लास्टिक भित्र पोको पारेर राखेको छ। यी नोट २०७२ साल यताको भएको र यी राष्ट्रका मुद्रा अमेरिकी डलरसँग परिवर्त्य गर्दा १ करोड १७ लाखभन्दा धेरै नेपाली रुपैयाँ हुन आउँछ।
नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले लुम्बिनीमा रहेका ती मुद्रा सटहीका लागि सम्झौता भएको र नेपाल राष्ट्र बैंकको एजेन्सी बैंक सिंगापुरको सिआईएमबी पठाएर सटही गरिने बताए।
दानपेटिकाको भेटी गणना गर्दा १ सय १ देशका मुद्रा लुम्बिनीमा भेटिएको थियो, जसमध्ये नेपाल राष्ट्र बैंकको परिवर्त्य मूल्यको सूचीमा परेका २० देशका मुद्रा नियमित रुपमा सटही हुँदै आएको थियो भने बाँकी मुद्राहरु सटही नभएर बर्षौंदेखि कोषमा थन्किएर बसेको थियो।
लामो समय सटही हुन नसकेपछि उपयोगमा नहुँदा केही नोट गलेर धुजाधुजा भइसकेका छन्। ती नोटको सटही गर्न कोषले नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेपछि राष्ट्र बैंकले २० वटा देशको नोट सटही गर्न सहमत भएको हो। राष्ट्र बैंकले कोषसँग सम्झौता भएसँगै निकट भविष्यमा लुम्बिनीमा दानस्वरुप आउने यस्ता अपरिवर्त्य देशहरुको नोट सटही गर्न बाटो खुलेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।