रुपन्देही– भैरहवाको बुद्धचोकमा एउटा विशाल भवन निर्माणाधीन छ। रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर नगरपालिकाको केन्द्रभागमा रहेको उक्त भवन घिमिरे समूहको लगानीमा निर्माण भएको हो। जहाँ ५ तारे होटल सञ्चालनमा आउँदैछ।
सिद्धार्थ नगरपालिकामा आर्को एउटा भव्य संरचना निर्माण भएर संचालनको तयारीमा छ। नेपालकै प्रतिष्ठित होटल चेन सिद्धार्थ समूहको लगानीमा अञ्चलपुरमा रिसोर्ट तयार भइसकेको छ। यस्तै, बेलहिया, लुम्बिनी सडक आसपास पनि भव्य संरचना निर्माणाधीन छन्।
होटल एसोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य सीपी श्रेष्ठले भैरहवा सेरोफेरोमा मात्र करिब १० देखि १२ अर्ब लगानी होटलमा भएको बताए। यस बाहेक रुपन्देहीको होटल क्षेत्रमा भएको कुल लगानी हेर्ने हो भने करिब ३० अर्ब बढी रहेको श्रेष्ठ बताउँछन्।
भैरहवा नेपाल भित्रने तेस्रो मुलुकका पर्यटकहरुको रोजाइमा परेको सीमा नाका भएको शहर हो। सिद्धार्थनगर नगरपालिका–१ बेलहिया हुँदै नेपालमा सबैभन्दा धेरै पैदलमार्गी पर्यटक भित्रन्छन्। सोही कारण पनि भैरहवा होटल व्यसायिका लागि रोजाइमा पर्दै आएको क्षेत्र हो।
पहिले साना स्केलका होटलहरुमा लगानी राम्रै भएपनि तारे होटलहरु भने भैरहवामा कम नै थिए। तर, यस क्षेत्रमा सन् २०१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएपछि भने होटलमा लगानी बढ्यो। राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका होटल चेनहरुले पनि यस क्षेत्रमा लगानी गरे। अहिले भैरहवा शहर आतिथ्यको क्षेत्रमा मोफसलकै राजधानी बन्ने संघारमा छ।
तर, २०२२ मा निर्माण पूरा भएर सञ्चालनमा आएको विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुको सट्टा उडान पनि घट्दै जान थालेपछि भने लगानीकर्तामा नैरश्यता छाएको छ।
अरबौंको लगानी जोखिममा पर्ने उनीहरूको चिन्ता छ। होटल व्यवसायी महासंघका उपमहासचिव राजेश महोत्रा भन्छन्, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने देखेर यस क्षेत्रमा अरबौं लगानी भएको छ, विमानस्थल ओझेलमा पर्दा हामी जोखिममा पर्यौं।’
महोत्राले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि दबाब सिर्जना गर्न संघर्षका कार्यक्रम गर्नुपरे आफूहरु तयार रहेको बताए।
भैरहवा मात्र होइन लुम्बिनी, बुटवल, तिलोत्तमा, सियारी लगायत रुपन्देहीका विभिन्न स्थानमा ठूलो लगानीका होटल बनिरहेका छन्। तीमध्ये केही निर्माणाधीन छन्। यी सबै होटलहरुको प्रमुख आधार भनेकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो। तर, विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लगानीकर्ताहरू अहिले चिन्तित छन्।
भैरहवा आसपासमा मध्यम तथा स्तरीय गरी करिब १ सय ४६ वटा होटल भएको हानका केन्द्रीय सदस्य श्रेष्ठको आकलन छ। सिद्धार्थ होटल संघमा मात्रै बाह्य पर्यटक केन्द्रित ८९ वटा होटल आबद्ध छन्।
बुद्ध जन्मस्थल लुम्बिनी नेपालको महत्त्वपूर्ण सम्पदासँगै विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र मानिन्छ। विश्वभरका बौद्धमार्गीहरू एकपटक लुम्बिनी आउने चाहना राख्छन्। लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि बौद्धमार्गी पर्यटकहरूको संख्या उल्लेख्य बढ्छ भन्ने अपेक्षा थियो।
तर, विमानस्थल सञ्चालन भएको आठ महिनासम्म उडान गरेको एउटा मात्रै एयरलाइन्सले पनि उडान स्थगित गरेपछि पर्यटक क्षेत्रमा गरिएको अर्बौं लगानी धराशायी बन्छ कि भन्नेमा व्यवसायीहरू चिन्तित बनेका हुन्। श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म केवल खाडी मुलुक केन्द्रित उडान भएको छ। त्यो पनि एउटा मात्र विमानले उडान गरेको छ। पर्यटन क्षेत्रमा उल्लास आउनका लागि बुद्धिस्ट राष्ट्रमा उडान हुन अत्याअवश्यक छ।’
सरकारले हवाई रूट र आईएलएस (थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडान–अवतरण गर्न सकिने उपकरण) सञ्चालनका लागि भारतसँग अनुमति नलिएसम्म विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन कठिन हुने देखिन्छ।
अहिले जाडोयाममा मौसमकै कारण भिजिबिलिटी नपुगेको भन्दै आन्तरिकतर्फका उडान पनि नियमित हुन सकेका छैनन्। गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय सबैभन्दा उत्तम मानिन्छ। अधिकांश मुलुकका पर्यटकले यही अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन्। पर्यटक आउने मुख्य सिजनमै उडान नियमित हुँदैन।
विमानस्थल सञ्चालनपछि जजिरा एयरलाइन्सले एक सय ५४ वटा उडान र अवतरण गरेको थियो। जसबाट ३१ हजार ६ सय यात्रुले सेवा पाएका थिए। जजिराले यहाँ गर्दै आएको उडानलाई काठमाडौं केन्द्रित गरेको छ।
करिब ४३ अर्ब रूपैयाँ लगानीमा बनेको विमानस्थलले प्राधिकरणलाई हरेक महिना आर्थिक भार थपिरहेको छ। अन्तर्राष्ट्रिय उडान स्थगित भएपछि कर्मचारी फुर्सदिला बनेका छन् भने विमानस्थललाई आर्थिक भार थपिएको छ।
देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा यो विमानस्थल अगाडि बढाइएको थियो। ५० वर्षसम्मको अन्तर्राष्ट्रिय स्तरको उडान र अवतरण थेग्ने गरी निर्माण गरिएको दाबी गरिएको यो विमानस्थलबाट बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्न सक्छन्।
विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान (पार्किङ) शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ। ग्राउन्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।