काठमाडौं– पर्साको नारायणी यातायात कार्यालय वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई हैरानी दिने गरेको आरोपमा ११ बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मंगलबार ११ बिचौलियालाई पक्राउ गरेको हो। सेवाग्राहीको काम छिटो मिलाइदिन्छु भन्दै पैसा असुल्ने, बार्गेनिङ गर्नेलगायत हैरानी दिने गरेको भन्ने गुनासो आएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१२ का २५ वर्षीय आलोककुमार यादव, वीरगञ्ज–१३ का ४५ वर्षीय किशोरकुमार दयाल, वीरगञ्ज–१५ का दिपलाल साह, सोही ठाउँका ४६ वर्षीय रामबाबु झा, पर्साको कालिकामाई गाउँपालिका–४ का ४० वर्षीय राजेश महतो, वीरगञ्ज–३ का ३७ वर्षीय रंजित महतो, वीरुगञ्ज–११ का २३ वर्षीइ लालबाबु महातो, परवानीपुर गाउँपालिका–५ का ४५ वर्षीय दरोगा दास, प्रसौनी–६ का ३० वर्षीय मुकेश साह, वीरुगञ्ज–११ का ४५ वर्षीय राजेश लामा र प्रसौनी–३ का २५ वर्षीय दिपु महतो छन्।
उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी निर्मल बुढाथोकीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।