काठमाडौं– वैशाख १० गते हुने उपनिर्वाचनअन्तर्गत उम्मेदवारी मनोनयनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा पुगेका छन्।
सत्ता गठबन्धनका प्रमुख दलहरुको समर्थन जुटाएर यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दैछन्।
यादव गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। मंसिरको निर्वाचनमा पराजित भएका यादव आफ्नो पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा २ मा उम्मेदबार बन्न लागेका हुन्।
यद्यपि जनमत पार्टीले बारा २ मा पनि यादवविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ। जनमत पार्टीले यादवविरुद्ध बारा २ मा शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने भएको छ।
जनमत पार्टीका अध्यक्ष राउत विगत केही दिनदेखि बारा २ मा सक्रिय छन्। पार्टीको पक्षमा माहोल बनाउन उनी विभिन्न सभा, सम्मेलन र घरदैलो अभियानमा सक्रिय छन्।
सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ। सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले भने यादवलाई समर्थन गर्दै उम्मेदवारी नदिने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा सत्तापक्षीय दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतले भने अहिलेसम्म उम्मेदवारी दिने/नदिने भन्नेबारे निर्णय गरिसकेका छैनन्।
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि सोमबार (चैत २० गते) उम्मेदवारी मनोययनको कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।