काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसद्मा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले शीतल निवास, सिंहदरबार, संसद् र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरिन्।
यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी हुनुपर्ने सांसद डाँगीको माग छ। उनले आफू बसिरहेको कुर्सी, प्रधानमन्त्री कसिरहेको कुर्सी कुन देशबाट आयात गरिएको हो भनी सरकारलाई प्रश्न समेत गरिन्।
‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ? ती कुराहरू अंकमा देखिनेगरि किन लागू भएनन? समीक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, डाँगीले भनिन्।
सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि सरकारलाई सचेत गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।