काठमाडौं- वैशाख १० मा हुने ३ वटा क्षेत्रको उपनिवार्चनमा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले उम्मेदवारविहीन हुने भएको छ। सत्ता घटक दलहरुबीचको भागबण्डाका कारण माओवादी केन्द्र आसन्न निर्वाचनमा उम्मेदवारीविहीन बन्न पुगेको हो।
बारा-२: उम्मेदवार हुने नेता अर्को पार्टीमा गएपछि ढुक्कसाथ उपेन्द्रलाई काँध
मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा- २ बाट तत्कालीन गठबन्धनबाट माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार दिए। कांग्रेसको समर्थनमा कुशवाहा उम्मेदवार रहे पनि जसपाका रामसहायप्रसाद यादवसँग करिब ४ सय मतान्तरले पराजित भए।
यादव उपरराष्ट्रपति भएसँगै रिक्त रहेको उक्त क्षेत्रमा कुशवाहाको स्वभाविक दाबी थियो। तर संघ सरकारका लागि गठबन्धन जोगाउन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने सूचना पाएपछि कुशवाहा जनमत पार्टी प्रवेश गरिसकेका छन्।
कमजोर जनाधार रहेको र उम्मदेवारीमा दावी गर्ने सम्भावित उम्मेदवार पनि अर्को पार्टी प्रवेश गरेपछि माओवादी केन्द्रले ‘हाइसन्चो’ का साथ यादवलाई समर्थन गरेको हो।
यो क्षेत्रमा राष्ट्रिय स्वातन्त्र पार्टीबाट पूर्वप्रहरी अधिकारी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दैछन्।
चितवन- २ र तनहुँ १: मंसिर ४ मै कांग्रेसलाई बुझाएको
रास्वपाका सभापति रवि लामिछाने मंसिर ४ मा चितवन- २ बाट निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतको एक फैसलाले नागरिकता खारेजी भएपछि उनको सांसद पद पनि गयो। त्यसपछि यो क्षेत्रमा पनि उपनिर्वाचन हुन थालेको हो।
लामिछाने मौजुदा सत्ता-गठबन्धनमा छन् र वैशाख १० को उपनिर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बन्दैछन्। तर उनी गठबन्धनका उम्मेदवार भने हैनन्। कांग्रेस-माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन भने कांग्रेस उम्मेदवारलाई हुनेछ।
त्यसो त मंसिर ४ को निर्वाचनमै यो क्षेत्रमा माओवादी केन्द्रले कांग्रेसका उमेश श्रेष्ठलाई समर्थन गरेको थियो। आसन्न निर्वाचनमा पनि उसले कांग्रेसकै उम्मेदवार जितनारायण श्रेष्ठलाई समर्थन गर्नेछ।
सोही अवस्था छ, तनहुँ- १ को पनि। साविकका सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएर रिक्त रहेको सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन गइरहेको हो। यहाँ पनि माओवादी केन्द्रको समर्थन कांग्रेसलाई हुनेछ।
मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रले कांग्रेस उम्मेदवार पौडेललाई समर्थन गरेको थियो। अहिले पनि सो पार्टीले आफ्नो पुरानै समर्थन कायम गरेको छ।
यो क्षेत्रमा रास्वपाबाट डा स्वर्णीम वाग्लेले उम्मेदवारी दिनेछन् भने कांग्रेसबाट गोविन्द भट्टराई रहनेछन्। माओवादीको समर्थन भने भट्टराईलाई हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।