काठमाडौं- ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’ मा सत्तापक्षका सांसदहरुले सभामुखलाई नियन्त्रित गर्ने किसिमले राखेको संशोधन प्रस्तावहरु फिर्ता लिइने भएको छ।
शनिबार सभामुखले विभिन्न पार्टीका नेताहरुलाई बोलाएर छलफल गरेका थिए। छलफलमा उनले आफू दलहरुसँगको छलफलबाटै अघि बढ्न तयार रहेको बताएका थिए। साथै, सभामुखलाई कस्ने प्रस्ताव अगाडि नबढाउन आग्रह गरेका थिए।
कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार, सभामुखको आग्रहपछि सत्तापक्षका सांसदहरु संशोधन प्रस्ताव फिर्ता लिन तयार भएका छन्।
कांग्रेसका राजेन्द्रकुमार केसी, सञ्जयकुमार गौतम र रामहरि खतिवडा, माओवादी केन्द्रका माधव सापकोटा, रुपा सोसी चौधरी र नारायणी शर्मा, एकीकृत समाजवादीका अम्मरबहादुर थापा र भानुभक्त जोशी तथा जसपाकी रेखा यादव लगायतले राखेको संशोधन प्रस्तावमा उस्तै भाषा उल्लेख छ, ‘यस नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन्।’
सभामुखको प्रारम्भिक शैलीले आफूहरुलाई त्यस खालको संशोधन प्रस्ताव राख्न उत्प्रेरित गरेको संशोधन राख्नेहरुको प्रतिक्रिया थियो। खासगरी सभामुखले कार्यव्यवस्था परामर्श समितिलाई बेवास्ता गरेको, प्रमुख सचेतकहरुको सल्लाह विपरीत जथाभावी बैठकको समय निर्धारण गरेको लगायतका आरोप उनीहरुको थियो।
यस किसिमको नियम राखेर सभामुखको अधिकार कटौती हुने र उनी सत्ता पक्षको बन्धनमा पर्ने भन्दै आलोचना भइरहेको थियो।
प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। बैठकबाट नियमावली पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।