काठमाडौं- प्रतिनिधि सभाको बैठक आइतबार १ बजे बस्दैछ। बैठकले प्रतिनिधि सभा नियवमाली पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले सदनमा प्रस्ताव राख्ने र त्यसमा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै नियमावली पारित गर्ने तयारी रहेको छ। सभापति केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
यसअघि सत्तापक्षका सांसदहरुले सभामुखको अधिकार कटौती गर्ने गरी नियमावलीमा संशोधन पेस गरेपछि विवाद भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमाले भने यसअघि नै मस्यौदामा सहमति भएअनुसार पेस गर्नुपर्ने अडानमा रहेका छन्। तर सत्तापक्षका सांसदहरुले सभामुखलाई सबै अधिकार राख्न नहुने र कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार सभामुखले संसद चलाउनुपर्ने संशोधन राखेका छन्।
उक्त संशोधनसहित अन्य कुरालाई समावेश गरेर दफावार छलफल हुनेछ। सके सहमतिमा नभए बहुमतले निर्णय गर्दै नियमावली पारित गर्ने तयारी रहेको छ। नियमावली नबन्दा प्रतिनिधि सभाका समितिहरु बन्न सकेका छैनन्। संसदको पहिलो अधिवेशन अन्त्यको नजिक भएकाले नियमावली छिट्टै पारित गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।