काठमाडौं- अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा दोस्रो दिन पनि रिले अनसन जारी राखेको छ।
म्याद सकिइसकेको असक्षम सभापतिलाई बर्खास्त गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनसन सुरु गरेको हो। अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ।
उनीहरुले असंवैधानिक सभापतिले गरेका सम्पूर्ण नियुक्ति खारेज हुनुपर्ने, १२औं महाविधेशन सुनिश्चित गरिनुपर्ने माग राखेका छन्। पार्टी कार्यालय सानेपामा अनसन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेका अध्यक्षले संगठन विरोधी काम गरेको र पार्टीले दिएको म्यान्डेड अनुसार स्ववियु महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए। उहाँले विधि विधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए।
आइतबार दोस्रो दिन अमन भुसाल ( रुपन्देही) र राजेन्द्र चटौत (कैलाली) अनसनमा रहेका छन्। यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए भने स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो। तोकिएको समयावधि भित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।