काठमाडौं– अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२औं वर्ष भए पनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैसम्म पनि रंगकर्मीहरुले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद रहेको बताएका हुन्।
उनले भने, ‘हामी ६२ औं रंगमञ्च दिवस मनाइरहेका रहेछौं तर पनि हाम्रो स्थिति त्रिपालमुनी नै रहेछ, दयनिय नै रहेछ, श्रमिकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ।’
कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन्। उनले भनिन्, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्न सक्ने थियौं। हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौँ, बजेटमा राख्न आग्रह गरेको छु । हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ।’
अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।